वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान



वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ ।

राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो ।


प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताए । ‘विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौं’, उनले भने,’अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव हुने छैन’, केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको रु १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताए ।

केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो । केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ ।