वीरगंज नाका हुँदै चारपाङ्ग्रे सवारी साधनको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि



पर्सा । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै  ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा  ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो ।

आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए।


“गत आवको तुलनामा चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ”, उनले भने “इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ । यो नाका हुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ ।”

चालु आव २०८१/८२ को भदौ मसान्तसम्ममा रु. छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन् । आव २०८०/८१ को सोही अवधिमा रु. १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए । गत आवको तुलनामा चालु आवमा छ दशमलव ९० प्रतिशतले आयात घटेको हो ।

चालु आवको भदौ मसान्तसम्ममा रु. छ करोड दुई लाख २६ हजार मूल्य पर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ । गत आवको सोही अवधिमा रु. १६ करोड ८० लाख ८१ हजार मूल्य पर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो ।

चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्य पर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा रु. नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा १७ करोड २४ लाख चार हजार मूल्य पर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ । गत आवको सोही अवधिमा रु. सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो । चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ ।

चालु आवको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुई पाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रु. दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने रु. १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा रु. एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएको थियो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here