वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा



काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।

काभ्रेको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमाको शनिबार अनावरण गर्दै सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताएका हुन् ।


‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ’, देउवाले भने ।

उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे ।

उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए ।

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसी कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ’, सभापति देउवाले भने ।

सभापति देउवाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए । ‘नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु’, उनले भने ।

हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ’, उनले भने ।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याए । उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुवात गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here