पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरामा सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेपछि जवाफमा बोलेका छन् ।
लामिछानेले आफूलाई लक्षित गर्दै विरोध र कालोझन्डासमेत देखाएपछि कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताएका छन् ।
सहकारी पीडितहरूलाई जवाफ दिँदै रविले पोखरामै भने, ‘तपाईंहरू गलत मान्छेलाई टार्गेट गर्दै हुनुहुन्छ । तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ ।’
लामिछानेले सहकारी हिनामिनाको अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरिएको बताए ।
रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरूले ‘सहकारी भनेको रवि लामिछाने हो’ भन्ने भाष्य बनाइदिएको पनि उनले गुनासो गरे ।
गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको भन्ने थाहा नभएको पनि उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिकामा रहेको पनि जिकिर गरे।
तर गोर्खा मिडियामा गितेन्द्रबाबु राई अध्यक्ष हुँदा रवि लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए ।