यागी आँधीका कारण एउटा व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन नदीमा खसे



बीबीसी । उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन् । त्यसक्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ ।

शनिबार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन् ।


पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो ।

फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेका भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन् । चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो ।

हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ । ३७५ मिटर लामो उक्त पुलको केही भाग अझै बाँकी छ । त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको ’पोन्टून’ पुल बनाउन निर्देशन दिएको छ ।

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो । आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्याएको छ ।

भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने, अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी जारी गरेका छन् । आँधीका कारण हनोईसहितका १२ उत्तरी प्रान्तमा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here