मौरीका चाका लिएर फर्कियो अध्ययन टोली



जुम्ला। मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ। मौरी घारबाट निस्केर उड्न नसकी मर्न थालेपछि किसानहरूले मौरी विकास केन्द्रबाट प्राविधिक अध्ययनको माग गरेका थिए।

मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्मजैसी अध्ययनका लागि जुम्ला आएका थिए। टोलीले गुठिचौर गाउँपालिकाको कोल्ते, पातारासी गाउँपालिकाको पेरे, तातोपानी गाउँपालिकाको गौतमबाडा र डाँगीबाडामा पालिएका मौरीको अध्ययन गरेको थियो।


‘उहाँहरूले झन्डै चार सयभन्दा बढी मौरी घार हेर्नुभयो’, मौरीपालक किसान नारायण चौलागाईंले भने, ‘मौरीघारमा देखिएका समस्या अध्ययन गरेर मरेका मौरी र चाका लिएर जानुभएको छ। ल्याबमा परीक्षणपछि रोग पत्ता लाग्ने आशा पलाएको छ।’

अध्ययनका क्रममा अधिकांश घारमा महसमेत नभेटिएको टोलीले जनाएको छ। वर्षाले फूलमा भएको गुलियोपानी सबै पखालिदिएकाले घारमा मह नभएको निष्कर्ष टोलीको छ। तर वर्षा रोकिनेबित्तिकै मौरीले घारमा मह जम्मा गर्न सुरु गर्ने छ।

प्राविधिक टोलीसामु किसानले मौरी बिमा गर्नुपर्ने, जुम्लाको हावापानीसुहाउँदो चलायमान घार सिफारिस गरेर पठाउनुपर्ने, किसानबाट दुईजना र कृषि कार्यालयबाट एकजनालाई मौरी सम्बन्धी तालिम दिइनुपर्ने माग राखेका छन्। एकजना किटविज्ञसमेत जुम्ला पठाउनुपर्ने किसानको अडान छ।

मौरीविज्ञ श्रेष्ठले जुम्लाका मौरीमा देखिएका समस्या ल्याबमा लिएर परीक्षण हुने बताएका छन्। ‘म काठमाडौं लिएर गएपछि छलफल गर्ने छु। ल्याबमा परीक्षणपछि आउने नतिजा किसानमाझ प्रवाह गर्ने छु’, विज्ञ श्रष्ठेले भने।

तीन दिनसम्म किसानको दैलोमा पुगेको टोलीले जिल्लाभर मौरीमा एकै प्रकारको लक्षण भेटिएको जनाएको छ। मौरी घारमा मह पोलाको माथिल्लो भागमा हुनुपर्नेमा नभएको, घारमा कुट नभएकाले पोला कमजोर भएर मौरी नासिने अवस्थामा पुगेको टोलीको भनाइ छ।

‘मौरी रोग, परजीवी, विषादी र कुपोषणका कारणले मर्ने गर्छ’, विज्ञ श्रष्ठले भने, ‘जिल्लाका तीन ठाउँमा पुग्यौं। व्यवस्थापकीय पक्ष ठीक छ। घारहरू राम्रोसँग राखिएका छन्। मौरी बचाउन घार सुधारमा केही गर्नुपर्ने देखिएको छ।’

मरेका मौरीको नमुना नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर भए पनि रोगको पहिचान गरिने उनले बताए। जुम्लामा सेराना जातका मौरी पालिँदै आएको छ।

टोलीले मौरी घारको अवस्था, चरन क्षेत्र र रोग किराका बारेमा पनि अध्ययन गरेको छ। जुम्लामा आठ हजारभन्दा बढी मौरीघार छन्। एक नगरपालिका र सात गाउँपालिकामा रहेको यस जिल्लाका सबै पालिकामा मौरीपालन भइरहेको छ।