मेलम्ची भ्रष्टाचार मुद्दामा दोषी ठहर चारै जनालाई ८ वर्ष जेल सजाय



काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय सुनाएको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय निर्धारण गरेको हो ।


विशेष अदालतले ठाकुरसहित सहित चार जना दोषी ठहर गरेको थियो । विशेष अदालतले आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई पनि ८ वर्ष एक महिना कैद निर्धारण गरेको छ ।

परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा जेष्ठ नागरिक रहेकाले ८ वर्ष कैदमा दुई वर्ष मिनाहा भएर ६ वर्ष कामय गरिएको छ । विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो माग गरेको छ ।

त्यस्तै, देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ ।

इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ भने सीएसीले २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो बुझाउनुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्ष तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here