काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्दलाई लिएर नेकपा माओवादी केन्द्र र एमालेबिच सांसदहरूबिच चर्काचर्की भएको छ । बुधवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द नहटाउने सभामुख देवराज घिमिरेको रुलिङपछि माओवादी र एमाले सांसदहरुबिच चर्काचर्की भएको हो ।
सभामुख घिमिरेले हिंसा शब्द संसदीय नै रहेको उद्घोष गरेसँगै नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ ।
एमाले नेता एवं सांसद योगेश भट्टराई भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गरी हिंसा शब्द प्रयोग गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।
सो शब्दबारे प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गरेका थिए ।
सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठीक रहेको बताए । उनले माओवादीले सभामुखको रूलिङको विरोध गर्ने पनि बताए । ‘यो शब्दका बारेमा जुन किसिमको ब्याख्या आएको छ, हाम्रो दल विरोध गर्दछ । यो बेठीक भएको छ । संविधानभन्दा माथि कोही हुँदैन । यसरी संविधान र कानुनको विपरीत शब्दहरु प्रयोग गर्दै जाने हो भने हामीलाई यसले कता लान्छ ?’ उनले प्रश्न गरे ।
सचिवालयले दिएको ब्याख्या आफूहरुलाई मान्य नरहेको पनि उनले बताए । माओवादीका सांसदहरुको निरन्तर अवरोधपछि आजको बैठक स्थगित भएको छ । अर्को बैठक आगामी भदौ ३० गते आइतबार बस्नेछ ।