मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।


मन्त्री भण्डारीले भने, “इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु ।” सबैले साझा प्रतिबद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीले दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रुपले समाधान गर्न सकिने धारणा राखे । “यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुछ भनेर गरिएको होइन, वास्तविक रुपमा नतिजा देखिने गरी काम गर्ने उद्देश्यले गरेका हौँ”, उनले भने ।

वर्तमान अवस्थामा विभिन्न चुनौतीहरु रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको उल्लेख गरे । उनले भने, “काम गर्ने क्रममा चाहेर वा नचाहेर पनि समस्या आइपर्छन्, त्यस्ता आइपर्ने समस्यालाई इमान्दारितापूर्वक जनताप्रति उत्तरदायी भएर सहज रुपले समाधान गर्दै जानुपर्छ ।”

मन्त्रालयका सचिवद्वय राउत र कार्कीले उक्त कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here