मधेस प्रदेशमा बाढीबाट पाँचजनाको मृत्यु, ९६ परिवार विस्थापित



जनकपुरधाम । अविरल वर्षाका कारण मधेस प्रदेशको विभिन्न नदी तथा खोला नालामा आएको बाढीबाट ठूलो जनधनको क्षति पुर्याएको छ । बिहीबार र शुक्रबार खासै क्षति नभए पनि शनिबार भने ठूलो क्षति भयो । मधेस प्रदेशका आठ जिल्लाका बासिन्दालाई सुरक्षित तथा सतर्क रहन सङ्घीय सरकार, मधेस प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेको थियो ।

बाढीबाट मधेस प्रदेशमा एक बालिकासहित पाँच जनाको मृत्य भएको छ । बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन् । आठजना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।


आठ जिल्लामा बाढीबाट रु ५६ लाख बराबरको क्षति भएको र नौवटा पशुचौपाया मरेका छन् । महोत्तरीमा दुई, सप्तरीमा एक र  रौतहटमा एकबालिकासहित दुई जनाको मृत्यु भएको छ । सर्लाही र पर्सामा गरी दुईजना बेपत्ता भएका छन् । महोत्तरीको गौशाला नगरपालिका–८ कुरामारीका १६ वर्र्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ । त्यस्तै बर्दिवास नगरपालिका–११ का २१ वर्षीय  मानबहादुर थिगंलाई खैरमारा खोलाले बगाउँदा मृत्यु भएको छ ।

सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्र्षीय प्रिन्सकुमार साहको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्र्षीय राज मुखियाको स्थानीय खोलामा माछा मार्न जाने क्रममा डुबेर मृत्यु भएको छ । रौतहटको पर्रोहा नगरपालिका–७ की १४ वर्र्षीया आशाकुमारी साह कानुको भकुवा खोलामा नुहाउन जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतोलाई सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

पर्सामा खोलामा बेपत्ता भएका एक व्यक्तिको परिचय खुल्न सकेको छैन् । त्यस्तै आठ वटा जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक र सर्लाहीमा एक, र बारामा तीन जना घाइते भएका छन् ।  प्रहरी उपरीक्षक बोहोराका अनुसार बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । साथै बाढीमा फसेका ३५ जनाको उद्दार गरिएको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए ।

रौतहटको गौरबजार जलमग्न भएको थियो । गौर कारागारमा बागमती खोलाको बाढी पसेपछि १२ थुनुवा कैदीलाई जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा सुरक्षित राखिएको छ । मधेस प्रदेशमा  सर्लाही तथा रौतहट जिल्लामा बाढीले अत्यधिक क्षति भएको छ । मधेसको राजधानी जनकपुरधामसहित ग्रामिण क्षेत्र जलमग्न रहेको थियो ।

महोत्तरीको रातो नदी र विग्ही नदीलगायतका नदी तथा खोलामा आएको बाढीले जलेश्वरलगायत खैरा, रतबारा, वनचौरी, पर्सा, तिलगढ, वलवा, मरईलगायतका ग्रामिण क्षेत्र जलमग्न भएको थियो । सर्लाही जिल्लामा बागमती नदी, मनुष्मारा, झाँझ र लखनदेही नदीमा आएको बाढीले वरहथवा, धनकौल, सिसौटीया, रामनगर, गोरइता, खैरवा, वहुअर्वा, वलरा, सुदामा, हथियोल, लक्ष्मीपुर र जव्दीटोलमा बाढी पसेरक्षति पुर्याएको थियो । 

सर्लाहीको वसवरिया र मानपुरमा रहकोको वाँधलाई कटानगर्दे बागमती नदीमा आएको बाढीले गाउँ पसेको र त्यहाँका एक सय घर परिबारलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सर्लाही १० नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । यस्तै सर्लाहीको वलरा नगरपालिका–१ छन्कीटोला तथा वलरा वडा नं २ हथियौलमा पनि ५० भन्दाबढी परिवार बाढीको कारण डुबानमा परेका वलराका नगरप्रमुख रामाशङ्कर कुशवाहाले बताए ।

बागमती तथा लालवकैयामा आएको बाढीले मौलापुर, कटहरिया, राजदेवी, दुर्गा भगवती गाउँपालिका क्षेत्रको बाँध कटान गरेको रौटहट जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यसैगरी पर्सा जिल्लाको विन्धवासिनी गाउँपालिकामा तिलावे खोलामा एप्रोचसँग जोडिएको तटबन्ध भत्किँदा पुल जोखिममा छ । सप्तरीको सकलपुरा, तिहाठी हनुमाननगरलगायतका सीमावर्ती क्षेत्रमा कोशी, महुली तथा खाँडो नदीमा आएको बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सिरहा जिल्लामा हुलाकी सडक तथा पुललाई क्षतिपर्याएको जनकपुरधाम हुलाकी सडक निर्देशनालयले जनाएको छ ।बाढीबाट प्रभावित तथा असुरक्षित रहेकालाई सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गरेको थियो । यसअघि २०५० सालमा बागमती नदीमा आएको बाढीले सर्लाही जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here