मधेस प्रदेश सरकारद्वारा प्रत्येक जिल्लालाई एक–एक करोड आपत्कालीन रकम विनियोजन



धनुषा । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक–एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो ।


आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । मुख्यमन्त्री सिंहले भने, “मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्रीको अगुवाइमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेसको कुन वडामा कति क्षति भएको छ, वडास्तरीय क्षतिका विवरण ल्याउन निर्देशनसमेत दिइएको छ ।”

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कङ्कालनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरू अति प्रभावित भएको जानकारी दिए । उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए ।

मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here