बागलुङमा आधुनिक बसपार्क सञ्चालन



बलेवा (बागलुङ) । साविक धौलागिरिवासीको २३ वर्ष अघिको सपना पूरा भएको छ । तत्कालीन अञ्चल सदरमुकाम बागलुङ बजारमा चार जिल्लाका सवारीसाधनको घुइँचो धान्ने गरी आधुनिक बसपार्क बनाउने सपना पूरा भएको हो ।

नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । बसपार्क निर्माण गर्न स्थानीय ४१ जना जग्गादाताले १७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।


जग्गाको खोजी थालेको २३ वर्षपछि तयार भएर सञ्चालनमा ल्याइएको बसपार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । दिप बाल्ने, शिलालेख अनावरण गर्ने र बस चालकलाई टीका लगाएर पहिलो बस बसपार्कबाट काँकडभिट्टा छुट्याएर मुख्यमन्त्री पाण्डेले बसपार्क सञ्चालनमा आएको घोषणा गरे ।

नगर विकास कोषको रु नौ करोड लगानी हुने भए पनि सात करोड ६६ लाख ९९ हजारमा काम सक्नेगरी आशिष फेवा संयुक्त निर्माण कम्पनीले जिम्मा लिएको थियो । बसपार्क, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सीपार्क लगायतको संरचना तयार गरिएका छन् ।

हाल बागलुङको चिप्लेटीमा रहेको बसपार्कले चाप नधानेपछि नयाँ बसपार्क सञ्चालनमा ल्याइएको हो । चिप्लेटी बसपार्कमा जिपपार्क वा सभाहल बनाउने विषयमा अध्ययन गरिने नगरपालिकाको योजना छ । यो बसपार्कले लामो र छोटो दूरीका बस सञ्चालन गर्न दुईवटा पार्क सञ्चालनमा आउन सक्नेछन् । बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्र्याक १७ रोपनीमा बनेको छ । यो बसपार्क बनेपछि एकैपटक ८० वटा बस राख्न मिल्नेछ ।

जग्गादाताले जग्गा फिर्ता पाउन अझै समय लाग्ने

तत्कालीन समयमा बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन तथा विकास समिति बनेको थियो । समितिले उपभोक्ताको ६९ रोपनी जग्गा एकीकृत गरेर आफ्नो नाममा लिएको थियो । सत्र रोपनी जग्गा नगरका नाममा दिएपछि बाँकी जग्गा समितिको नाममा छ । बसपार्कका लागि नगरलाई जग्गा दिँदा १२ बुँदे सहमति भएको थियो ।

सहमति अनुसार जग्गादाताले जग्गा दिए । बाँकी जग्गामा सडक, खानेपानी, विद्युत् सहितका पूर्वाधार तयार गर्ने जिम्मेवारी नगरपालिका भए पनि हालसम्म काम भएको छैन । सबै काम सकेर कित्ताकाट भएपछि योगदानको आधारमा जग्गा फिर्ता गर्ने सम्झौतामा उल्लेख गरिएको समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए। अहिले सडक खोल्दा जग्गा फिर्ता लिन जग्गादाता तयार भएका बताउँदै राजस्वमा कुरा नमिलेकाले ढिलाइ भएको उनले जानकारी दिए।

करिब रु चार करोड राजस्व प्रदेश सरकारले छुट दिने र नगरले बाटो बनाइदिए मात्रै जग्गा फिर्ता गर्न सकिने राजभण्डारीले बताए। बसपार्क सञ्चालनमा आइसक्दा पनि निःशुल्क दिएर बाँकी रहेको जग्गा नपाएकामा जग्गादाता भने निराश छन् ।

“बसपार्क बनाउन जग्गा दिएकालाई बाँकी रहेको जग्गा फिर्ता नगरी बसपार्क उद्घाटन गर्नु सहमति अनुसरा नभएको तर्क समितिका सचिव ध्रुवबहादुर केसीले गरे । “सम्झौता अनुसारको काम भएन्, नगरले जग्गादातालाई बाँकी जग्गा यथाशीघ्र फिर्ता गर्नुपर्छ”, उनले भने ।

विसं २०५८ देखि बसपार्क निर्माणको कसरत सुरु भए पनि जग्गा, स्रोतलगायत विविध कारणले स्थानीय तह गठनपछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहलबाट प्रक्रिया सुरु भयो । निवर्तमान नगरप्रमुख जनकराज पौडेल नेतृत्वले नगर विकास कोषसँग ऋण लिने, जग्गाको चक्लाबन्दी तथा प्राविधिक र भौतिक रुपमा आएका चुनौती चिरेपछि बसपार्क निर्माण सुरु भएको थियो ।

बसपार्क नियमित सञ्चालनमा आशङ्का

बसपार्क मुख्य सडकको पहुँचमा छैन । बस्ती छिचोलेर बसपार्कमा पुग्नुपर्ने पहुँचमार्ग पनि सहज नभएकाले ठूला सवारीसाधन सहज रुपमा यहाँ पुग्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पहुँचमार्ग कालोपत्र र स्तरोन्नति गर्न प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

“नयाँ बसपार्कबाट सहज रुपमा बस सञ्चालन गर्न पाइयोस्, उद्घाटन भएको बसपार्क नियमित सञ्चालन नभएको भन्ने सुन्न नपरोस्, यातायात व्यवसायीका समस्या समाधान हुँदै जानुपर्छ”, धौलागिरि गण्डकी यातायात सेवाका अध्यक्ष उमेश केसीले भने, “हामी बसपार्कबाट सेवा लिन प्रतिबद्ध छौँ ।” स्थानीय र प्रदेश सरकारले बसपार्क नियमित सञ्चालनको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।