काठमाडौं। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई आज विदाई गरेका छन्।
आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले ज्ञवालीले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका काम गरेको बताए।
अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन, नीतिनिर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले पुर्याएको अतुलनीय योगदानको उनले चर्चा गरे। महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई मायाको चिनो पनि प्रदान गरेका थिए।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आगामी दिनमा पनि संगठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी दर्जागत उमेरहदका कारण भदौ २६ गते सेवानिवृत्त हुन लागेका हुन्।