प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा, परराष्ट्र सचिव सेवा लम्साल पनि महासभामा भाग लिन अमेरिका जानेछन् ।


राष्ट्रसंघको ७९औं महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्युयोर्कमा हुँदैछ। २८ सेप्टेम्बरसम्म चल्ने महासभामा विश्वभरिका राष्ट्र प्रमुखहरूको सहभागिता रहने बताइएको छ ।

त्यस्तै बैठकले पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ । बैठकले पलेशालाई दिइने ६५ लाख पुरस्कारमा कर छुट गर्ने निर्णय गरेको हो ।

सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा कास्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्ने खेलाडी पलेशालाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।