पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला सङ्घको चौथो बैठकमा उनले सङ्गठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए ।

महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी सङ्गठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे । पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्तीबस्तीसम्म लैजान आवश्यक रहेको उनको भनाइ थियो ।


महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिए । यसैगरी उनले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गरे ।

“संविधान जारी भएको १० वर्षका सबल र दुर्बभ पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक सङ्कट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भने ।

उनले ठुला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको धारणा राखे । “पार्टी—पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उनले भने ।

महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न सङ्कलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताए । यसले मुलुक सङ्कटबाट मुक्त नभए पनि सुधारका सङ्केत देखिएको उनको भनाइ थियो ।

स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here