नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण



नासा र स्पेसएक्सले अमेरिकी राज्य फ्लोरिडाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा नयाँ चालक दल परिवर्तन मिसन प्रक्षेपण गरेका छन् ।

‘क्रु–९’ नाम दिइएको यो मिशनले नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभलाई आइएसएसमा लैजाँदैछ । यो स्पेसएक्ससँग नासाको नवौँ व्यावसायिक चालक दल परिवर्तन मिशन हो ।


स्पेसएक्सको फाल्कन ९ रकेटले शनिबार स्थानीय समयानुसार दिउँसो १ः१७ मा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट ड्रागन अन्तरिक्ष यानमा सवार चालक दललाई प्रक्षेपण गर्यो । नासाका अनुसार अन्तरिक्ष यानलाई साँझ ५ः३० मा आइएसएससँग डक गर्ने तालिका रहेको छ ।

नासाका अनुसार क्रु–९ सदस्यहरूले रगत जम्ने अध्ययन, अन्तरिक्षमा उब्जाइएका बोटबिरुवाहरूमा चिसोपनको प्रभाव र अन्तरिक्ष यात्रीहरूमा दृष्टि परिवर्तनसम्बन्धी दुई सयभन्दा बढी वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछन् ।

अन्तरिक्ष यान अर्को फेब्रुअरीमा क्रु–९ का अन्तरिक्षयात्रीहरूसँगै फर्किने अपेक्षा गरिएको छ । साथै नासाका अन्तरिक्षयात्रीहरू सुनी विलियम्स र बुच विल्मोर पनि पृथ्वीमा फर्किने अपेक्षा गरिएको छ । उनीहरू जुनमा बोइङ स्टारलाइनरमा स्टेशनमा उडेका थिए र त्यसबेलादेखि अन्तरिक्षमै अलपत्र परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here