नयाँ विरोधी कानूनलाई लिएर पाकिस्तानमा छ सांसद पक्राउ



इस्लामाबाद । नयाँ विरोधी कानुनलाई लिएर पाकिस्तानमा ६ सांसद मंगलबार पक्राउ परेका छन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका ६ पाकिस्तानी सांसदलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसमा अश्रु ग्यास प्रहार गरिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।


पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ । खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् ।

सांसदहरू इस्लामाबादमा आतंकवादविरोधी अदालतमा प्रस्तुत भएको र एक न्यायाधीशले उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाएका छन् । अदालतमा एएफपीले प्राप्त गरेको आरोपपत्रअनुसार उनीहरूमाथि गत साता पारित शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐन, २०२४ को उल्लंघन गरेको आरोप लगाइएको छ । आरोपपत्रमा हिरासतमा पठाउने कूल ३४ जनाको नाम राखिएको थियो ।

आइतबारको जुलुसपछि ‘अधिकारीहरूमाथि आक्रमण’, ‘सशस्त्र दंगा’, र ‘गैरकानुनी सभा’ का बारेमा प्रहरी उजुरीको सामना गर्ने सांसदहरूसँग अदालतमा प्रस्तुत भएका पीटीआई नेता एवं वरिष्ठ वकिल मुहम्मद शोएब शाहिनलाई पनि हिरासतमा पठाइएको छ ।

“मलाई साँझ करिब साढे ७ बजे मेरो कार्यालयबाट लगियो,” उनले भने, “यस्ता सानातिना अवरोधले हामीलाई रोक्न सक्तैन, हामी इमरान खानको सिपाही हौँ र उहाँसँगै उभिएका छौँ ।”