दश महिनादेखि आफ्ना मागको सुनुवाइ नभएको कवाडी व्यवसायीको गुनासो



काठमाडौँ । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौँ महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् ।

विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गरिए पनि १० महिनादेखि महानगरले आफ्ना मागको सुनुवाइ नगरेको कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताले गुनासो गरे । वर्षैँदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका कवाड व्यवसायीलाई पलायन हुनेगरी महानगरले व्यवसाय सञ्चालन गर्न नदिएको उनको भनाइ छ ।


“पटक पटक पत्रकार सम्मेलन गरेर हाम्रा मागका सन्दर्भमा महानगरको ध्यानाकर्षण गरायौँ, हुलाकमार्फत पनि मागपत्र पठायौँ, हालसम्म कुनै सम्बोधन भएको छैन”, अध्यक्ष गुप्ताले भने ।

यता महानगरले भने वातावरण फोहर गरेको, आगजनीका तथा चोरीका घटना बढेको भन्दै कवाड व्यवसायीलाई व्यवसाय गर्न दिएको छैन । कामपाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्र कवाड व्यवसायले कसैलाई पनि फाइदा नपुग्ने भएकाले व्यवसायीलाई महानगरभित्र व्यापार गर्न नदिने निर्णय भएको बताए । उनले भने, “जेसुकै भए पनि महानगरभित्र कवाड राखेर कसैलाई पनि फाइदा भएको छैन । उद्योग पनि फष्टाएको छैन, त्यसकारण महानगरभित्र कुनै पनि कवाडी पसल र डिपो राख्न नदिने महानगरले स्पष्ट निर्णय गरेको छ ।”

प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौँ महानागरपालिकाको विभिन्न वडामा कवाड व्यवसाय सञ्चालन गर्दै आएको समाजले जनाएको छ । व्यवसायीले कवाडी सामान जफत र तोडफोड गर्नेलगायत कवाड व्यवसायीमाथि गरिएको व्यवहार तत्काल रोक्न र निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न महानगरसमक्ष माग गरेका छन् ।

“हाम्रो मुख्य माग भनेको वर्षौंदेखि हामीले गर्दै आएको कवाडी व्यवसाय गर्न पाउनुप¥यो”, समाजका अध्यक्ष गुप्ताले भने, “कवाडका नाममा विभिन्न थरीको कर तिर्छौं तर अनावश्यक कर लगाइनु भएन, रोजीरोटी गुम्नुभएन ।”

कवाड सामग्रीमा प्लास्टिकको बोटल, बियर, वाइनआदिका बोटल, फलामका सामग्री, कागजलगायत सामग्री पर्छन् । कवाड व्यवसायीले उद्योगलाई एक महिना कच्चापदार्थ उपलब्ध (सप्लाइ) नगर्ने हो भने उद्योग आर्थिक सङ्कटमा पर्ने अध्यक्ष गुप्ताले दाबी गरे ।

देशमा रोजगारीको सुनिश्चित हुनुपर्ने, महानगरले कवाड व्यवसायीको मर्म र भावना बुझिदिनुपर्ने, अनावश्यक करको बोझ थप्न नुहने व्यवसायीको भनाइ छ । काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार कवाड व्यवसायी रहेका समाजले जनाएको छ ।

“फोहरबाट मोहर बनाइरहेका हामीलाई किन सास्ती दिइयो, फोहर व्यवस्थापन, वातावरण सन्तुलन, उद्योगलाई कच्चापदार्थ उपलब्ध गरिरहेका छौँ, आवश्यक कर पनि तिरिरहेका छौँ, रोजगारी सिर्जना भएको छ तर हामीलाई काठमाडौँबाट लखेट्न खोजियो”, अध्यक्ष गुप्ताले गुनासो पोखे ।

कवाड व्यवसायमा अर्बौैं लगानी भइसकेको व्यवसायीको भनाइ छ । दश महिनामा एक दिन पनि महानगरले मागबारे कुरा गर्न नचाहेको भन्दै कवाड व्यवसायीले यो मुद्दालाई राष्ट्रिय रुपमा उठाएर उद्यमशीलताको विकास र रोजगारीको अवसर प्रदान गर्न लागिपर्ने जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै करिब एक हजार कवाड सङ्कलन गर्ने डिपो छन् । ललितपुर र भक्तपुरमा पनि उल्लेख्य सङ्ख्यामा कवाड डिपो रहेका छन् ।

उद्योगलाई कच्चापदार्थ सप्लाई गरेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीले मुलुकको अर्थतन्त्रमा पनि योगदान पु¥याउँदै आएको उनीहरुको भनाइ छ । सङ्कलित कवाड स्वदेशी उद्योगका साथै भारतमासमेत निर्यात हुने गरेको समाजका अध्यक्ष गुप्ताले जानकारी दिए। “विभिन्न डिपोबाट जम्मा गरिएका सामान उद्योगलाई दिइन्छ । नेपालमा धेरै स्टिल उद्योग छन् । बियर, वाइन, ह्विस्की, प्लास्टिक उद्योग आदिले कवाडी सामान लिन्छन्”, उनले भने ।

महानगरले ज्ञापनपत्र पनि लिन नमानेर आफूहरुलाई अपहेलित गरेको कवाड व्यवसायीको गुनासो छ । कर सङ्कलन हुने, प्रदूषण नियन्त्रण तथा उद्योगलाई कच्चापदार्थ उपलब्ध गराउने गरेको कवाड व्यवसायीले बताएका छन् । आफ्ना मागको सुनुवाइका लागि कवाड व्यवसायीले माइतीघर, सुन्धारा, पुतलीसडकलगायत स्थानमा धर्ना, जुलुस र नाराबाजीसहित सङ्घर्ष गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here