ताँजकोट गाउँपालिकामा गर्भवतीसँग ‘स्वास्थ्य शिक्षा कार्यक्रम’



हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष लाकेश जैसीले कार्यक्रमअन्तर्गत यहाँका गर्भवती, सुत्केरी र नवजात शिशुको हेरचाहका लागि जनचेतना अभिवृद्धि गर्न विभिन्न गतिविधि भइरहेका बताए । उनले पालिकाका प्रत्येक वडामा रहेका प्रत्येक विद्यालयमा पोषण र व्यक्तिगत सरसफाइसम्बन्धी कार्यक्रमसमेत सँगसँगै अगाडि बढाइएको उनले जानकारीदिए ।


“हामीले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका छौँ । वर्षायाममा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका लागि स्वास्थ्यकर्मी गाउँटोलमा परिचालन गरेर निरन्तर काम गरियो”, अध्यक्ष जैसीले भने ।

यसै क्रममा पालिकाको स्वास्थ्य शाखाले वडा नं २, ३ र ४ मा रहेका ५४ जना गर्भवती आमासँग छलफल गरेको छ । गाउँपालिकामा रहेका तीन वडाका ५४ गर्भवतीलाई गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको अवस्थासम्बन्धी के–कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा जानकारी दिन आज स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

“सुरक्षित संस्थागत प्रसूति, आमा र बच्चाको स्वास्थ्य, पोषण, सरसफाइ खोपसम्बन्धी जानकारी दिन आज पनि स्वास्थ्य शिक्षा कार्यक्रम ग र्‍यौँ। त्यसक्रममा गर्भवतीको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि, विकासको अवस्थाबारे जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच, पोषण, गर्भावस्थामा सहयोग, प्रशस्त आराम गर्नुपर्नेलगायत विषयमा जानकारी गराइएको थियो । पालिकाको यस अभियानले पछिल्लो समय घरमै प्रसूति सुत्केरी गराउनेको सङ्ख्या विस्तारै घट्दै गएको छ”, उनले भने।

यस्तै आज वडा नं ३ मा रहेको रामदेव आधारभूत विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here