चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर



दाङ । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् । 

“सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उनी भन्छन् । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाडौँ लगायतका सहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले बताए । 


घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उनले भने । 

जग्गा जमिन केही नभए पनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जीविका चलाउँदै आएको उनको भनाइ छ । उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेका छन् । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन् ।  

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडपर्व आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेसा लोप हुने चिन्ता उनलाई छ । “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उनले भने । 

गाइनेको रूपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् । 

पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here