काठमाडौँका बस्ती र सडकमा बाढी पस्दा सवारी आवागमन प्रभावित



काठमाडौं । लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही  मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ ।

तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल  सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा  प्रभाव परेको हो ।


पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि  चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली, तिनपिप्ले र कान्तीलोकपथमा सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेकाले बनेपा बजार  हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । निरन्तर वर्षा भइरहेकाले सुरक्षालाई मध्यनजर गरि अत्यावश्यक काम  बाहेक  यात्रा  नगर्न  सम्पूर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here