आफ्नो कार्यक्रम बजेटमा नपरेको भन्दै अनशन बस्ने पूर्वमुख्यमन्त्री कार्कीको चेतावनी



कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न नौवटा माग राख्दै कोशी प्रदेश सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पठाउँदै कार्कीले आफ्ना मागहरू पूरा नभए विराटनगरस्थित प्रदेशसभा भवनको गेट अगाडि अनशन बस्ने चेतावनी दिएका छन् ।

कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको स्मरणपत्रमा १० वर्षमुनिका बालबालिकाका लागि विशििष्टकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्ने, बजेटमा २५ लाखभन्दा कम रकमका आयोजना नराख्ने नीति अपनाउनुपर्ने लगायतका मागहरु समावेश छन् ।


त्यस्तै शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम कायम राख्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिने, जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने विषय मागमा राखिएका छन् । 

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा सुरू गरिएका यी कार्यक्रमहरू हालको सरकारले कटौती गरेको आरोप लगाएका छन् । वर्तमान आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा यी जनहितकारी कार्यक्रमहरूलाई निर्ममताका साथ हटाको आरोप लगाएका छन् । ‘मैले यी कार्यक्रमहरूको पुनःसञ्चालनका लागि प्रदेश सभामा पटक–पटक आवाज उठाएको छु’, आइतबार एक पत्रकार सम्मेलन गर्दै कार्कीले भने, ‘तर वर्तमान प्रदेश सरकारले यी मागहरूलाई बेवास्ता गरिरहेको छ ।’