कास्की । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित भएकी छन् ।
पोखरामा बिहीबार राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन् ।
सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित भएका छन् । यसैगरी सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ (नवलपुर) निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ ।
यसअघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरू रक्षा गर्नका लागि सम्पूर्ण महिला सचेत र सजग रहनुपर्ने बताइन् । उनले लामो सङ्घर्षपछि प्राप्त अधिकार र उपलब्धिमाथि षड्यन्त्र हुनसक्ने भएकाले परिस्थितिसँग जुध्न तयार रहन अपिल गरे। ‘अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकार स्थापित छन् ।
संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्रसमेत हुनसक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ,’ उनले भनिन् । पार्टीलाई आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन एक्लै चुनाव लड्न सक्ने बलियो शक्ति बनाउनेगरी पार्टी निर्माण गरिने उनले बताइन् ।
पार्टी स्थायी समिति बैठकपछि सबै प्रदेशमा पार्टीका बैठक सम्पन्न भएको र आगामी केन्द्रीय समिति बैठकका लागि महत्त्वपूर्ण सुझाव नेता, कार्यकर्ताबाट प्राप्त भएको उपाध्यक्ष भुसालले बताइन् । उनले भनिन्, ‘पहिलो संविधानसभा निर्वाचनमा हामीले एकल बहुमत नजिक पुगेका थियौँ । त्यसपछि हाम्रो जनमत कम हुँदै गएको छ । हामी सत्तामा बढी केन्द्रित भयौँ, अब जनतामा जाने र बलियो पार्टी बनाउने गरी कार्यक्रम बनाउँदैछौँ ।’
उपाध्यक्ष भुसालले राजनीतिक मान्यतामा पहिलो र दोस्रो ठूलो दलको सरकार बन्न नसक्ने भए पनि अघिल्लो सरकारले सुरु गरेका सुशासनलाई रोक्नका लागि हतार–हतार नयाँ सरकार बनेको टिप्पणी गरिन् । माओवादी केन्द्रका सचिव दीननाथ शर्माले जनयुद्धमा नेपाली महिलाले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताए ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरले जनयुद्धमा जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको बताइन् । सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो ।