सोमालियामा द्वन्द्व र विपद्‌को प्रभाव : ८ महिनामा तीन लाखभन्दा बढी मानिसहरू विस्थापित



मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर) ले आइतबार बताएको छ ।

युएनएचसिआर नेतृत्वको संरक्षण र निगरानी रिटर्न्स नेटवर्कले अगस्टमा मात्रै २३ हजार आन्तरिक विस्थापन भएको र तीमध्ये ४३ प्रतिशत द्वन्द्व, असुरक्षा, बाढी वा खडेरीका कारण भएको बताएको छ । 


‘खाना, आश्रय, जीविकोपार्जन, पानी, र स्वास्थ्य नयाँ विस्थापित परिवारहरूको प्रमुख आवश्यकताहरू थिए । बारी, खाडी, मध्य जुबा, गेडो र तल्लो जुबा क्षेत्रहरूले सबैभन्दा धेरै आन्तरिक विस्थापितहरूको आगमन रिपोर्ट गरेका छन् । यो कूल विस्थापितको ६६ प्रतिशत हो,’ युएनएचसीआरले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको पछिल्लो परिचालन अपडेटमा भनेको छ । 

युएनएचसिआरका अनुसार उच्च संरक्षण जोखिममा रहेका महिला र बालबालिका विस्थापित जनसङ्ख्याको ८० प्रतिशत छन् । यसले सोमालियामा असुरक्षाका लागि योगदान गर्ने प्रमुख कारकहरू सोमाली सुरक्षा बल र अल–शबाब बीचको सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र आतङ्ककारीहरूले गरेको अन्धाधुन्ध आक्रमणहरू रहेको बताएको छ । 

एजेन्सीले सोमालियाको समग्र राजनीतिक र सुरक्षा अवस्था अनिश्चित र परिवर्तनशील रहेको बताएको छ । सोमालियामा ४० हजार दुई सय शरणार्थीहरू छन् । यसमध्ये ६६ प्रतिशत महिला, ३० प्रतिशत विद्यालय जाने उमेरका बालबालिका (६ वर्षदेखि १७ वर्षसम्मका) र २६ प्रतिशत प्रजनन उमेरका महिला र किशोरीहरू (१३ वर्षदेखि ४९ वर्षका) रहेको युएनएचसीआरले बताएको छ । 

प्रतिवेदनअनुसार यहाँ इथियोपियालीहरू (६५ प्रतिशत), दोस्रोमा यमन (३० प्रतिशत), सिरिया तेस्रो (चार प्रतिशत) र एक प्रतिशत अन्य राष्ट्रका शरणार्थीहरू छन् । युएनएचसीआरले सन् २०१४ डिसेम्बरदेखि एक लाख ३९ हजार दुई सय ६० पूर्वशरणार्थीहरू शरणार्थी देशहरूबाट सोमालिया फर्केका बताएको छ । केन्या र यमन क्रमशः दोस्रो र तेस्रोमा छन् । 

यसले मुख्यतया केन्याबाट स्वैच्छिक स्वदेश फिर्ता कार्यक्रम र यमनबाट असिस्टेड स्पोन्टेनियस रिटर्न कार्यक्रममार्फत शरणार्थी फिर्ता हुनेमध्ये ९५ हजार दुई सय छ व्यक्तिलाई प्रत्यक्ष सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here