सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो



काठमाडाैँ। स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि बढेकाे छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।


यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

बिहिबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य पनि बढेको छ। 

चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ।

विश्व बजारमा डलरको मूल्यमा उतारचढाव आइरहेको छ। फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ।

यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन्। 

आगामी सन् २०२७ मा सुनको मूल्य बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here