साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको मालबस्तु निर्यात



झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालबस्तु विदेशी मुलुकमा निर्यात गरेको छ ।

जुन गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजार रुपैयाँले घटेको हो ।


मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार रुपयाँ बराबरको मालबस्तु निर्यात भएको थियो ।

उनका अनुसार चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालबस्तु निर्यात भएको छ ।

मेची भन्सारको तथ्याङ्क अनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ । जुन गत आव २०८०/८१ को तुलनामा क्रमश. ३८ दशमलव ०८ प्रतिशत र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात हुँदा ३४ करोड ९२ लाख ५९हजार रुपैयाँ बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । जुन गत आवको साउन महिनाको तुलनामा ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले निर्यात घटेको हो ।

त्यस्तै भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउली लगायतका बस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।