काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले बुधबार बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए ।
उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।
रास्वपाबाट उपसभामुख बनेकी रानामाथि पाँच जनालाई अमेरिका पुर्याउन पदको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ । सो विषय बाहिरिएपछि आज संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो ।
यस्तै सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।