संविधानले स्थापित गरेका उपलब्धि खोस्ने षड्यन्त्र गरे सदन र सडकबाट प्रतिरोध गर्छौंः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले थालेको सुशासनको अभियान सदन र सडकबाट छेड्ने बताएका हुन् ।


उनले भने, ‘सरकारमा हुँदा थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं । भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ ।’

अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए ।

उनले संविधानसभाबाट प्राप्त उपलब्धिलाई खोस्ने षड्यन्त्र भएको त्यसको प्रतिवाद गर्ने बताए । उनले भने, ‘ हिजो संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाईं विद्यार्थीहरु तयार हुनुहोला ।’

उनले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताए । उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौं । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौं । सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति,योजना र कार्यक्रम गर्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here