संविधानको मर्मविपरीत ‘जनयुद्ध’लाई अपमानित गर्ने छुट कसैलाई छैनः सांसद बस्नेत



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उनले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरुले शब्द प्रयोग गरेको बताए। ‘जनयुद्ध’ले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उनले गलत भाष्य स्थापित नगर्न ध्यानकर्षण गराए ।


पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका बस्नेतले अरुण तेस्रो जलविद्युत् आयोजनालाई समयमा बन्न दिइएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य हुने उल्लेख गरे । उनले भने, “सो आयोजना कस्ले किन बन्न दिएन ? कस्को कारण रोकियो ?”

उनले सत्तारुढ दलका तर्फबाट सदनमा व्यक्त भएको धारणाप्रति स्पष्ट पार्नसमेत अनुरोध गरे । माओवादी केन्द्रका उपमहाससचिव समेत रहेका नेता बस्नेतले इतिहासमा सीमित भएको संविधानसभालाई जनयुद्धले नै स्थापित गरेको बताए । क्रान्तिलाई हिंसाका रुपमा मात्रै लिने हो भने २००७ सालको सङ्घर्षलाई के भन्ने ? २०२८ सालको झापा विद्रोहलाई के भन्ने ? भन्दै उनले प्रश्न गरे ।

उनले सांसदहरुबाट व्यक्त भएको धारणाप्रति आफ्नो दलको तर्फबाट आपत्ति, विरोध कायम नै रहेको सांसद बस्नेतको भनाइ छ । उनले केही महत्वपूर्ण विधेयक अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्न लागेको सन्दर्भलाई जोड्दै सदनलाई सञ्चालन गर्न दिने निर्णय गरिएको स्पष्ट पारे ।

सांसद देवेन्द्र पौडेलले केही दिन पहिले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्षलगायत तीन जनाको निधन भएको जानकारी दिदैँ त्यस्ता दुर्घटना कम गर्न लागि सरकारको ध्यानकर्षण गराए । उनले सडक दुर्घटनालगायतका अन्य विपदमा परेका नागरिकलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे । सांसद माधव सापकोटाले केही दिन पहिले सिन्धुपाल्चोकमा बलेरो गाडी दुर्घटनामा परी बेपत्ता भएका सोनु शेर्पाको खोजीलाई तीव्र पार्न आग्रह गरे ।

सांसद सुशीला थिङले सिन्धुलीको पहिचानको रुपमा स्थापित जुनार खेतीमा कीराको प्रकोप बढेका कारण किसान प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न र प्राविधिक खटाउन आग्रह गरिन् । किसान चिन्तित र आतङ्कित भएको जानकारी दिँदै उनले एक प्रकारको पुतली नियन्त्रण गर्न, पीडित किसानलाई राहत दिन माग गरिन् ।

सांसद सूर्यप्रसाद ढकालले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विपरीत गएर जनप्रतिनिधिले आफ्ना धारणा राख्न नहुने उल्लेख गरे । उनले एक सांसदले एक टेलिभिजन कार्यक्रममा कालापानी र लिम्पियाधुराको सन्दर्भमा दिनुभएको धारणाप्रति आपत्ति प्रकट गरे ।

अशोककुमार चौधरीले सुनसरीको एक उद्योगले बिना प्रशोधन फोहर पानी स्थानीय बूढीखोलामा फालिँदा जनजीवन प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न माग गरे । उनले बेरोजगार युवालाई गलत प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पु¥याएर ठगी गरेको भन्दै सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बिक्री वितरण हुन नसकेको उल्लेख गर्दै विदेशी स्याउ बिना अवरोध व्यापार व्यवसाय भइरहेकामा सरकारको ध्यानाकर्षण गराए । उनले नेपाली नागरिकको स्वास्थ्य प्रभावित भइरहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । सांसद डा धवलशमशेर जबराले शिख समुदायको धर्मअनुसार कपाल तथा दाह्री राख्ने प्रबन्ध अनुसार सुरक्षा निकायमा भर्तीका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरे ।

सांसद तारा लामा तामाङले अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा जनधनको क्षति भएका जानकारी दिँदै प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गरे । बाढीपहिरोले कञ्चनपुरको हुलाकी सडक प्रभावित बनाएको, हजारौँ बिघामा लगाइएको धानखेती बगरमा परिणत भएको भन्दै राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

सांसद लालवीर चौधरीले कर्णाली नदीका कारण बर्दियाका विभिन्न स्थानमा कटान गरिरहेको जानकारी दिँदै जनधनको सुरक्षाका लागि आवश्यक बजेटको प्रबन्ध गर्न माग गरे । सांसद राजेन्द्र बजगाइँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण उडान अवतरणमा रोक लगाइएका कारण स्वदेश फर्कन खोज्ने नागरिकले महङ्गो भाडा तिर्नुपरेकामा गुनासो गरे ।

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गर्न माग गरिन् । उनले झापामा जातीय विभेद्को घटनामा वृद्धि भएको भन्दै दोषी उपर कारबाहीको माग गरिन् ।

सांसद रञ्जुुकुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । सांसद प्रकाश अधिकारीले तराई–मधेशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको जानकारी दिँदै यही भदौ २८ गते सिरहाको गोलबजारमा एक पत्रकारको घरमा आक्रमण भएको र स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो गरे ।

सांसद गङ्गाराम चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुर जिल्लामा जनधन प्रभावित भएकाले पीडितलाई उचित राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराको गढीमाइमा आगामी मङ्सिरमा लाग्ने मेलाको उचित व्यवस्थापन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सो मेला सञ्चालनमा आउने समय आएपछि अनावश्यक प्रचार भएकामा आपत्ति जनाए ।

सांसद वासुदेव घिमिरेले फोहरमैलाको उचित प्रबन्ध गरी स्वच्छ र मर्यादत व्यवस्थापन गर्न माग गरे । फोहर व्यवस्थापनका लागि आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्नेमा जोड दिए । सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा जनताको अपेक्षा विपरीतको गतिविधि भएको र नेपाली जनतालाई विश्वस्त बनाउन नसकिएको बताए । सहकारी प्रकरणमा सत्तापक्षका सांसद नै जोडिएको उनले आरोप लगाए ।

सांसद प्रेम सुवालले राजनीति देश र जनताको सेवा गर्ने महत्वपूर्ण काम रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीले राख्नुपर्ने केही विषयवस्तुमाथि सुझाव दिए । सांसद रामहरि खतिवडाले बाढीपहिरोका कारण देशभरका सडक समस्यामा परेको, पहिरो आएको तथा खाल्डाखुल्डी परेको उल्लेख गर्दै तत्काल मर्मत सम्भार गर्न माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here