वर्षाबाट प्रभावितहरूको उद्धारमा खटिन उद्योगमन्त्रीको आग्रह



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण उत्पन्न परिस्थितिको सामना गर्न आवश्यक पर्ने उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् ।

बुधबारदेखि लगातार भारी वर्षाका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रभावित भएका व्यक्तिहरूलाई संयमित भई सुरक्षित रहन र राहत तथा उद्धारमा तदारुकता देखाउन सम्बन्धित सरकारी निकाय र सङ्घसंस्थालाई आग्रह गरेका हुन् ।


मन्त्री भण्डारीले सुदूपश्चिम प्रदेशअन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–८ की १४ वर्षीया प्रतिमा धामी र डोटी जिल्ला केआईसिंह गाउँपालिका–४ की ८ वर्षीया निर्मला चन्द बेपत्ता हुनाका साथै तीनजना घाइते र केही पशुचौपायासमेत मरेका घटनाले आफूलाई निकै दुःखित तुल्याएको एक विज्ञप्तिमार्फत जनाएका छन् ।

यसैगरी, उनले केही दिनयता सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र मौसमविद्हरुका अनुसार अझै एक दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपद्को समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रहसमेत गरेका छन् ।

लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलाली जिल्लाका एक सय ४६ परिवारका पाँच सय ४७ जना विस्थापित भएका छन्भने कञ्चनपूरको दोधारा चाँदनी, पुनर्वास र भीमदत्त नगरपालिकाका ८३ परिवारका दुई सय ४६ जना विस्थापित भएका छन् ।

यसैगरी, बैतडीको दशरथचन्द नगरपालिका–११ बगलेखानमा चार घर जोखिममा परेका छन् । वर्षातकै कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तपन्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र डा केआईसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई आवतजावत प्रभावित भएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here