वन मन्त्रालयमा पठाएपछि असन्तुष्ट बनेका दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा



गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । सोमबार नेकपा एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत उनले राजीनामा पठाएका हुन् ।

सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए । वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका हुन् । उनले आफूले स्वकीय सचिवमार्फत राजीनामा पठाएको जानकारी दिएका छन् ।


उनले सरकारमा बस्न अल्छी लागेकाले राजीनामा दिएको बताए । एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद मनाङेलाई यथावत राखेका थिए । तर मनाङेले राम्र्रो मन्त्रालय नपाएका भन्दै राजीनामा दिएका छन् ।