रवि लामिछानेमाथि सहकारी ऐनअनुसार कारबाही हुन्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनअनुसार कारबाही हुने बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले लामछिानेमाथि दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका हुन् ।


छानबिन समितिले नाम नै उल्लेख गरेर गोरखा मिडियाका सञ्चालकहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेकाले यसबाट कोही उम्किन नसक्ने बताए ।

उनले भने, ‘गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं सहकारीलाई ठगेको छ। गैरकानुनी तरिकाबाट सहकारीको पैसा ल्याएको छ। अनि अहिले आएर मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन भन्न मिल्दैन।’

उनले राप्रपाकी सांसद गीता बस्नेतमाथि पनि सहकारी ऐनको दफा १२२ बमोजिम नै कारबाही भइरहेकाले गोरखा मिडियाका संचालकहरुले उन्मुिक्त नपाउने बताए ।

उनले आफूहरूकै जोडबलमा सहकारी ठगीसम्बन्धी संसदीय समिति बनेको र समितिको प्रतिवेदनबाट सत्य खुलेको बताए ।

उनले भने, ‘गोरखा मिडियाका सञ्चालक आफैं सरकारको जिम्मेवार पदमा भएका कारणले सहकारी ठगीमा छानबिन हुन सकेको थिएन। उनीविरुद्ध जाहेरी पर्दापर्दै पनि छानबिनमा अवरोध गरियो। त्यसपछि हामीले संसदलाई गुहारेका थियौं ।’

महामन्त्री थापाले संसदीय छानबिन समितिमा रहेका रास्वपाका नेता शिशिर खनालले प्रतिवेदनमा प्रतिवेदनमा सहकारी ठग्नेलाई कारबाही गरियोस् भनेर सही पनि गर्ने अनि बाहिर आएर हाम्रो सभापतिले ‘क्लिन चिट’ पाए भनेर छट्टु काम गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here