मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार



मलेसियाली अधिकारीहरूले ठूलो मात्रामा छापा मारेर बालबालिका हेरचाह गृहहरूबाट सयौँ बालबालिकाको उद्धार गरेको र धेरै मानिसलाई गिरफ्तार गरेको प्रहरीले बुधबार बताएको छ । ती गृहहरूमा बालबालिकामाथि कथित रूपमा शारीरिक तथा यौन दुर्व्यवहार गरिएको थियो ।

प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले बुधबार सेलाङ्गोर र नेग्री सेम्बिलान राज्यमा विभिन्न परोपकारी घरहरूमा छापा मार्दा एकदेखि १७ वर्ष उमेरका चार सय दुई बालबालिकाको उद्धार गरिएको जानकारी दिए ।


बिहानै छापा मार्दा प्रहरी र अन्य एजेन्सीका करिब एक हजार कर्मचारी सहभागी थिए । महानिरीक्षक रजारुद्दिनका अनुसार इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरूको हेरचाह गर्नेसहित एक सय ७० जनालाई पक्राउ गरिएको छ ।

हेरचाह गर्नेहरूले पीडितहरूमाथि यौन दुर्व्यवहार गरेको र अन्य बालबालिकालाई दुर्व्यवहार गर्न बाध्य पारेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको रजारुद्दिनले पहाङ राज्यमा पत्रकार सम्मेलनमा बताए ।

“बिरामीहरूलाई उनीहरूको अवस्था नाजुक नभएसम्म क्लिनिकमा उपचार गर्न अनुमति दिइएन”, उनले भने । उनका अनुसार पाँच वर्षसम्मका केही बालबालिकालाई तातो चम्चाले पनि डामिएको थियो ।

बालबालिकालाई अस्थायी रूपमा राजधानी क्वालालम्पुरस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा राखिने र उनीहरूको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here