भूजीखोला बाढीको चार वर्ष: पीडित अझै मारमा



ढोरपाटन। यहाँको भूजीखोलामा विसं २०७७ भदौ १७ गतेको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो। उक्त बाढीले २२ जनाको ज्यान लिएको थियो। बाढीमा परेका १५ जना अझै फेला परेका छैनन्। पहिरो पीडित परिवार ठूलो वर्षा हुँदा अहिले पनि आनन्दले निदाउन सक्दैनन्।

ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ मा पर्ने भूजीखोलाको बाढी पीडितले अझै उचित राहत पाउन नसकेको गुनासो गर्दै आएका छन्। बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो। ११ लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो। बाढीले क्षति पुर्‍याएको ११ लघु जलविद्युत आयोजना सबै सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए।


बाढीले ढोरपाटन नगरपालिका–९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो। सालझण्डी–ढोरपाटन सडक खण्डको २० किलोमिटर सडक बगाएको थियो । संघीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउन सबै किस्ता रकम उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता मात्रै प्राप्त गरेको उपप्रमुख कायतले बताए।

ढोरपाटन नगरपालिका–९ का बाढी पीडित कुलबहादुर विक ठूलो पानी पर्दा रातभर जाग्राम बस्छन्। विकले ऋण गरेर घर बनाएपनि ऋण तिर्न नसक्दा अप्ठ्यारो स्थितीमा पुगेको बताए। बाढीले आफन्तसहित सबै सम्पत्ति बगाउँदा बिहान बेलुकाको हात मुख जोड्नसमेत मुस्किल भएको उनको गुनासो छ। बाढीले उनको घर जग्गासहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो। बाढीले भए भएभरको सम्पत्ति बगाइ दिएपछि लामो समय आफन्तकहाँ बसेका उनी भर्खरै घर बनाएर सरेका छन् ।

उनले भने, ‘बर्खाको समय ढोरपाटन बस्छौँ, हिउँद लाग्यो भने तल भूजीखोला झर्ने हो, ठूलो पानी पर्दा निन्द्रा लाग्दैन, पहिलाको जस्तै बगाउँछ कि भन्ने डर लाग्छ, बाढी पीडितलाई सरकारले साथ दिएन।’

अर्का बाढी पीडित निम प्रकाश विकले आफन्तसहित भएभरको सम्पत्ति बगाएपछि काकालाई एउटा घडेरी मागेर घर बनाएको सुनाए। घर बनाएको ऋण तिर्न नसक्दा समस्यामा परेको उनको गुनासो छ। बाढीले उनको २५ वर्षीया श्रीमति, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित परिवारका सबै सदस्य बगाएको थियो। सरकारले चार लाख रुपैयाँ दिन्छ भनेर घर बनाए पनि अहिले उक्त रकम नपाएको उनले सुनाए।

‘अहिले म ठूलो ‘टेन्सन’मा छु, बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो,’ उनले भने, ‘अहिले ऋणमा डुबियो, के गरेर तिर्ने ?’