महोत्तरी । महोत्तरीमा विद्यालयका किशोर वयका छात्राको बालविवाहविरुद्ध अभियानमा सक्रियता बढेको छ । विद्यालयमा माध्यमिक तहका छात्राले अब निर्धक्क बालविवाहविरुद्ध आफ्नो अभिमत सङ्गठित रुपमा राख्न थालेका हुन् ।
बालविवाहविरुद्ध विद्यालयपिच्छे छात्राहरुले ‘बालविवाहविरुद्ध सचेतना समूह’ बनाएका छन् । पछिल्लो समयमा जिल्लाका १५ स्थानीय तहमध्ये सातले बालविवाहविरुद्ध बस्तीबस्तीमा सचेतना अभियान सञ्चालन गरेपछि किशोरीहरुको अभियानले थप वल पाएको छ ।
“हामीलाई नगरपालिकाको साथ छ, अब त अभिभावक पनि बालविवाहविरुद्धको अभियानमा जुट्न थाल्नुभएको छ”, अभियानको सवल पक्षबारे स्पष्ट पार्दै मटिहानी–८ स्थित राम माध्यामिक विद्यालयकी कक्षा १२ की १७ वर्षीया छात्रा हीना खातुन भन्छिन्, “स्थानीय तह, समुदाय र घरपरिवारको साथले अब बालविवाहका घटना पातलिँदै गएका छन् ।” महोत्तरीमा बालविवाहविरुद्ध सामाजिक जागरणमा जुटेका विद्यालयका छात्रा अब हीनाजस्तै निर्धक्क बालविवाहविरुद्ध आफ्ना कुरा भन्न सक्ने बन्दैछन् ।
जिल्लाका मटिहानीसहित सात स्थानीय तहहरु बालविवाह न्यूनीकरणका लागि विभिन्न गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा प्रयत्न अघि बढाउँदैछन् । जिल्लाका मटिहानीसहित बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टि नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्धको सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना चलाइएका छन् । यी सातवटै स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवन उपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका छन् ।
बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासन आदि कार्यक्रम सञ्चालन गराइरहेका छन् । जिल्लामा स्थानीय तहहरुले विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा बालविवाहविरुद्ध सामाजिक जागरणका अभियान सघन बनाउँदै लगेपछि विद्यालयका छात्राले अब निर्धक्क भएर अब घरमा विवाहका कुरा चलेको सुनेपछि प्रतिवाद गर्न थालेका छन् ।
“घरमा आफन्तले बिहेका कुरा त ल्याउँछन्, हामी अभिभावकलाई यी कुरा अहिले अघि नबढाउन भन्छौँ, घरमा हाम्रो कुरा सुनिन थालेको छ”, राम माविकै कक्षा १२ की अर्की १८ वर्षीया छात्रा समिमा खातुन भन्छिन्, “बालविवाहविरुद्धको सचेतना अभियानमा सामाजिक अगुवा र नगर नेृतृत्वकै बलियो साथले अब हामी कतै बालविवाह हुँदैछ भन्ने थाहा पाएपछि त्यहाँ पुगेर कुरा बुझाउने गरेका छौँ ।”
मुस्लिम, दलित र जनजाति समुदायको बसोबास बाहुल्यताको मटिहानी नगरपालिकामा अशिक्षा, सामाजिक चेतनाको कमी, दहेजको भार र गरिबीले गर्दा बालविवाहका घटना निकै बाक्लो भेटिएपछि आपूmहरुले यसविरुद्ध विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा अभियान सुरु गरेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । अहिले बस्तीपिच्छे बालविवाहविरुद्ध सामाजिक जागरणका लागि अभिभावक, पुरोहित÷मोल्वी र सम्बद्ध वडाबस्तीका जनप्रतिनिधिसम्मिलित समिति बनाइएका छन् ।
माध्यामिक विद्यालयहरुमा पनि छात्रछात्रा सम्मिलित जागरण टोली अभियानमा सरिक गराइएको मण्डल बताउँछन् । आफ्नो नगर कार्यपालिकाको कार्यालयको बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजनमा बालविवाहविरुद्ध सञ्चालित अभियानले सकारात्मक प्रभाव बढाएको उनको कथन भनाइ छ ।
“यो वर्षौंवर्षदेखि समाजलाई जकड्याएको सामाजिक कुरीति हो, यसविरुद्ध मुख्यरुपले सामाजिक ऐक्यबद्धता आवश्यक छ”, मण्डल भन्छन्, “समाजका व्यक्तिव्यक्तिले ‘अब बालविवाह हुन दिनुहुन्न’ भन्ने स्थिति बनाइनुपर्छ ।” अहिले आपूmहरु यसै प्रयत्नमा जुटिएको उनले बताए । यस क्रममा नगर क्षेत्रका सबै माध्यामिक तहका विद्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना भइरहेका छन् । बालविवाहविरुद्ध जनमत बढाउन बस्तीबस्तीमा जागरण अभियान सञ्चालन गरिएका मण्डलले उल्लेख गरे ।
‘नगरौँ बिहेका कुरा, अहिले भएको छैन २० वर्ष पूरा’ यो नारा अब मटिहानीका जनजनमा पु¥याइँदै गरिएको मटिहानी नगरपालिकाको बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ । पछिल्ला दुई वर्षदेखि बालविवाहविरुद्ध विभिन्न अभियान संयोजन गर्दै आएको शाखाले अहिले विद्यालयका छात्रछात्रा, विभिन्न धर्म सम्प्रदायका गुरु÷पुरोहित र सामाजिक अगुवाहरुलाई यस अभियानमा जोडेको शाखा प्रमुख गीता दास बताउँछन् ।
“हामीले बालविवाहविरुद्ध सामाजिक जागरणलाई प्राथमिकता दिएका छौँ, अहिले यस अभियानमा इस्लाम धर्म परम्पराका मौलाना, मोल्वी, धार्मिक मठका सन्तमहन्थ र गुरु÷पुरोहित जुट्नुभएको छ”, दास भन्छन्, “अभियानमा समाजका अगुवा जोडिनुभएको छ, बस्तीबस्तीमा बालविवाहविरुद्ध सामाजिक जागरण सञ्चालन गर्न समिति कार्यरत छन् ।”
सामान्यतया विद्यालयमा पढिरहेकी छात्रा १४/१५ वर्षकी भएपछि विवाहका कुरा चल्ने र विवाह गरिने आम चलन देखिएपछि यस अभियानमा विद्यालयका छात्रालाई जोडिएको हो । विद्यालय नआउने किशोरी त झन् चाँडै विवाह गरिने चलनले कलिलो उमेरमै बच्चा जन्माउने र गम्भीर प्रकृतिका रोगका सिकार हुने कुराजस्तै देखिएको दुई वर्षअघिलाई सम्झँदै मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । “हामीले दुई वर्षपहिले गरेको सर्वेक्षणमा आठ सयभन्दा बढी बालविवाहका घटना भेट्टायौँ”, उनी भन्छन्, “यो अवस्था चिर्न तत्काल पहलकदमी लियौँ, नगर कार्यपालिकाको कार्यालयको बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजनमा अभियानमा जुट्यौँ, अहिले हाम्रो अभियानले सकारात्मक उपलब्धि हासिल गरेको छ ।”
चमार, दुसाध, मलाह, धानुक, केवट, खत्वे र मुस्लिम जाति समुदायका गरिब बस्तीमा यो समस्या बढी देखिएको छ । नगर क्षेत्रमा यी जाति समुदायको बसोबास बाक्लो हुँदा यहाँ बालविवाहका घटना बढी देखिएका हुन् । बालविवाहलाई निरुत्साहित गर्न यसविरुद्धको सामाजिक ऐक्यबद्धता र छोरी शिक्षालाई प्राथमिकतामा राखेर अहिले सङ्गठित अभियान अघि बढाइएपछि यस्ता घटना पातलिँदै गएका दासको भनाइ छ ।
मटिहानी नगरपालिकाले आफ्ना छोराछोरीको विवाह उमेर पुगेपछि गर्ने अभिभावकलाई पछिल्ला दुई वर्षयता सम्मानको परम्परा बसाएको छ । यस अवधिमा अभिभावक, धार्मिक विधिअनुसार विवाह गराउने मोल्वी तथा गुरु÷पुरोहितसहित एक सय बढी सम्मानित भएका छन् । विवाह गर्न÷गराउन महत्वपूर्ण भूमिका हुने मोल्वी, गुरु÷पुरोहित र धार्मिक मठका सन्तहरुलाई अभियानमा जोडेर उनीहरुबाटै घरघरमै पुगेर ‘उमेर नपुगी छोराछोरीको विवाह गर्नु सामाजिक अपराध हो’ भन्न थालिएपछि बालविवाहका घटना क्रमशः पातलिँदै गएका नगरको बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।
“अब त घरमा विवाहका कुरा चल्दा छात्राहरु नै प्रतिवादमा उत्रन थालेका छन्”, शाखाप्रमुख दास भन्छन्, “कतिपय छात्राले यस्तो सूचना दिएपछि जनप्रतिनिधि, जागरण अभियानी घरै पुगेर अभिभावकलाई सम्झाई–बुझाई यस्ता घटना रोकिएको छ ।” समाजमा उमेर नपुगेका केटाको पनि विवाहका घटना देखिए पनि यो कुरीतिको सिकार बढी छोरी भएको पाइएको दासको भनाइ छ ।
बालविवाहविरुद्ध सामाजिक जागरण अभियानको संयोजन गरिरहेको बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले पनि क्रमशः बालविवाहका घटना कम हुँदै गएको निष्कर्ष निकालेको छ । “हामीले आर्थिक वर्ष २०७९/८० मा सर्वेक्षण गरेका थियौं, बालविवाहका आठ सय घटना पाइएका थिए, त्यसयता यसविरुद्धको अभियान बढाउँदै लगिएसँगै अब बालविवाहका घटना निकै कम भएका छन्” शाखा प्रमुख दासले भने । अब त कतै उमेर नुपुगेका जोडीबीच विवाह हुँदैछ भन्ने थाहा पाउनासाथ अभियानमा जुटेका सामाजिक अभियानी र छात्रछात्रा यस्तो विवाह नगर्न घरघरै पुगेर सुझाउने गरेका दासले बताए ।
मटिहानी नगरपालिकाले बालविवाह निरुत्साहित गर्न छोरी शिक्षा कार्यक्रम र निरक्षर उन्मूलन अभियानको पहिलो चरण गत आव २०८०/८१ मा सम्पन्न गरेको छ । नगरका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकलाई बस्तीबस्तीमै साक्षरता कक्षामा सामेल गराइएर १५ वर्षमुनिका बालबालिकालाई विद्यालयसँग जोडिएको हुँदा अब आफ्नो नगर सधैँ शिक्षा अभियानमा अघि बढिरहने नगरप्रमुख मण्डलको भनाइ छ ।
मटिहानी नगरपालिकाले गत आव २०८०/८१ को असोजमा बस्तीबस्तीमा विद्यालयका माध्यामिक तहका ७२ जना छात्रछात्रालाई साक्षरता दूूत तोकेर साक्षरता कक्षा कार्यक्रम सञ्चालन गरेको थियो । नगरका नौवटा वडा बस्तीमा सञ्चालित यस्ता कक्षाबाट यसअघि पूर्ण निरक्षर रहेका तीन हजार ६ सयजना साक्षर बनेका नगर कार्यपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
नगर बस्तीमा सञ्चालित साक्षरता कक्षाबाट यसअघिका निरक्षर अब आफ्नो र परिवारजनको नाउँ ठेगाना लेख्न पढ्न सक्ने, साधारण जोडघटाउ गर्न जान्ने, मोवाइल चलाउन सक्ने र घडी हेर्न जान्ने भएका छन् । यस अभियानको सकारात्मक परिणामले नै मटिहानी गत जेठको पहिलो सातामै पूर्ण साक्षर नगर घोषणा भइसकेको शाखा प्रमुख चन्देश्वर साहले बताए । अब नगरका ९५.१६ प्रतिशत बासिन्दा साक्षर बनेका नगरको शिक्षा तथा खेलकुद शाखाको तथ्याङ्क अभिलेखमा उल्लेख छ । यो अभियानलाई निरन्तरता दिँदै लगिने साह बताउँछन् ।
खासमा समाजमा रहेका परम्परागत कुरीति हटाउन शिक्षामा जोड दिइनुपर्ने निष्कर्ष साथ मटिहानी नगरपालिकाले छोरी शिक्षालाई जोड दिँदै आएको छ । विद्यालयमा पढ्न आउने छोरीहरुका लागि कापी, कलमसहितका शैक्षिक सामग्री, स्कूल झोला र हुर्केका छोरीलाई साइकल दिँदै आएको छ । गत शनिबार राम माविका कक्षा १२ का ६२ जना छात्राले साइकल पाएका छन् । नगरले २०७५ देखि कक्षा ११ का छात्रालाई साइकल उपलब्ध गराउँदै आएको छ । हालसम्म राम माविका चार सय ८७ जना छात्राले साइकल पाइसकेका छन् ।
बालविवाहविरुद्धको सचेतना अभियानमा अहिले आठ कक्षामाथिका छात्राहरु सङ्गठित छन् । यी सचेतना समूहमा आबद्ध किशोरी आफ्नो बस्तीमा उमेर नपुगेका कसैको विवाहको कुरा चलेको थाहा पाउनासाथ ‘नगरौ बिहेको कुरा, भएको छैन २० वर्ष पुरा’ भन्न पुग्ने गरेका छन् । यसैगरी जिल्लाका अन्य छ स्थानीयतहमा पनि बालविवाहविरुद्धका अभियानले सकारात्मक प्रभाव बढाएका छन् । पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले वालविवाहका घटनामा छोराभन्दा छोरी बढी पर्ने गरेका पाइएको हुँदा छोरी शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम बनाइएको बताइन् ।
मुलुकको अहिलेको प्रचलित विवाहसम्बन्धी कानुनी व्यवस्थाले २० वर्ष उमेर नपुगी गरिने विवाहलाई दण्डनीय अपराध उल्लेख गरेको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तह छन् । जिल्लाको बर्दिबास नगरपालिका दुई वर्ष पहिले नै बालविवाहमुक्त नगर घोषणा भइसकेको छ ।
पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार तराई मधेशका २० जिल्लामा बालविवाहको अवस्था सालाखाला ४२।२ प्रतिशत रहेको उल्लेख छ । महोत्तरीमा बालविवाह ५० प्रतिशतको हाराहारीमा देखिन्छ, जसमा ८० प्रतिशत छोरी परेका देखिन्छन् । पछिल्ला प्रयत्नबाट सकारात्मक परिणाम प्राप्त भइरहेकोे जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउँछन् । “पछिल्ला प्रयत्नले सकारात्मक परिणाम देखाएका छन्, यो अभियान अझ सशक्त बनाइन आवश्यक छ” कर्ण भन्छन्, “यसको पहिलो कडी छोरी शिक्षा हो, घरघरबाट छोरी विद्यालय पु¥याउने र टिकाउने गरी कामका योजना बनिन पर्छ ।”
जिल्लामा बालविवाह दुरुत्साहन गर्न कानुनी कारबाहीको पाटो पनि महत्वपूर्ण हुने महिला सशक्तीकरण अभियानमा जुटेका अगुवा महिलाको धारणा छ । समाजमा हुने बालविवाहका घटनाबारे प्रहरी कार्यालयहरुमा दोहोरो छलफल गरेर मिलापत्र गराइने गरेको पनि सुनिने गरिएको महिला सशक्तीकरण अभियानमा सरिक हुँदै आएकी रेखा झा बताउँछिन्।
“यस्ता घटना छलफल र मिलापत्र हैन, अदालती कारवाहीमा लगिन पर्छ, यसले कानुनको परिपालनामा बल दिन्छ” झा भन्छन् । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बालविवाहविरुद्धका उजुरीमा छलफल वा मिलापत्र हुने नगरेको स्पष्ट पारेको छ । बालविवाह दण्डनीय अपराध भएकाले यस्ता अपराधमा संलग्नले कारवाहीबाट उन्मुक्ति पाउने गुञ्जाइस नरहेको कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक नकुल पोखरेल बताउँछन् ।