बागलुङको जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम



बलेवा (बागलुङ) । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ ।

प्रदेश सरकारले एघार जिल्लाका ८५ वटा स्थानीय तहमध्येबाट १८ स्थानीय तहलाई नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट गरेको हो । बागलुङबाट जैमिनी नगरपालिका र बरेङ गाउँपालिका छनोटमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।


छनोटमा परेको बागलुङको बरेङ गाउँपालिकामा स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना सञ्चालन गरिने छ । भौगोलिक अवस्था, परम्परागत रैथाने बाली र किसानको माग तथा चाहनालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सुरु भएपछि यहाँका किसान व्यावसायीक उत्पादनसँग जोडिने गाउँपालिकाको विश्वास छ । साझेदारीमा कार्यक्रम सञ्चालन हुने छ ।

जैमिनीले बाँसजन्य सामग्रीको उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने जनाएको छ । बाँसका उत्पादनलाई विश्व बजारसम्म पु¥याउने योजनाअन्तर्गत कार्यक्रममा साझेदारी गर्न थालिएको नगर उपप्रमुख हरिहर शर्माले बताए ।

यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रैथानेबाली (जौ तथा उवा) उत्पादन तथा ब्रान्डिङ परियोजना सञ्चालन गर्ने भएको छ । मुस्ताङ र पर्वतका पालिका छनोटमा परेका छैनन् । कार्यक्रमका लागि ५४ वटा पालिकाले प्रस्ताव पेस गरेकामा ४० आवेदन मापदण्डभित्र परेका थिए । मापदण्डभित्र परेका आवेदनमध्येबाट कार्यक्रमका लागि विनियोजित बजेटको आकार अनुसार पालिकाले पेस गरेको प्रस्तावको नम्बरका आधारमा १८ पालिका छनोटमा परेको र बागलुङका दुई पालिका पनि छानिएको कार्यालयका उपसचिव गुरुङले बताए ।

कार्यक्रमका लागि प्रदेश सरकारले प्रतिपालिका एक करोड प्रदान गर्ने जानकारी दिँदै उनले त्यसमा कम्तीमा ३० प्रतिशत पालिकाले अनिवार्य लगानी गर्नुपर्ने शर्त रहेको पनि बताए । यसअघि बागलुङको गलकोट नगरपालिका साझेदारी कोषमार्फत् ओखरखेती प्रबद्र्धन र काठेखोला गाउँपालिका चट्याङ प्रतिरोधी प्रविधि जडानका लागि छानिएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here