फोहरलाई घरबाट वर्गीकरण गर्न ‘क्लिन बागलुङ’ अभियान



गलकोट (बागलुङ) । जिल्लाको बागलुङ नगरपालिकाले फोहरलाई घरबाट वर्गीकरण गरेर सङ्कलन गर्ने उद्देश्यले ‘क्लिन बागलुङ’ अभियान सञ्चालन गरेको छ । बागलुङ बजारमा उत्पादन भएको फोहरलाई डेढ दशकपछि नगरपालिकाले प्रशोधन र पुनःप्रयोग गर्न मिल्नेगरी व्यवस्थापन गर्न थालेको हो ।

बजार क्षेत्रको फोहर यसअघि सङ्कलन गरेर थुपार्ने काममात्रै भएकामा आजदेखि घरबाट वर्गीकरणगरी सङ्कलन गरिने भएको हो । बजार क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनलाई घरबाट वर्गीकरण गर्ने, प्रशोधन गर्ने र ‘जिरो वेस्ट’ प्रविधिबाट उचित व्यवस्थापन गर्न नगरपालिकाले आजदेखि ‘क्लिन बागलुङ’ अभियान शुभारम्भ गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।


बागलुङ बजारको ऐश्वर्य पार्कमा एभरेष्ट बैंकको सहकार्यमा निर्माण गरिएको सार्वजनिक शौचालयबाट फोहर सङ्कलन गर्ने बाल्टी वितरणगरी अभियानको शुभारम्भ गरिएको हो ।

नगरपालिकाले रु एक करोड लागतको योजनामा ‘क्लिन बागलुङ’ अभियान थालेको भन्दै नगरप्रमुख श्रेष्ठले बागलुङ–१ मालढुङ्गामा फोहर सङ्कलन गर्ने र प्रशोधन गर्ने तीनवटा छुट्टाछुट्टै घर निर्माण गरिएको जानकारी दिए ।

डेढ दशकदेखि मालढुङ्गामा थुप्रिएको फोहरलाई स्थानान्तरण गरेर वर्गीकरण र प्रशोधनका लागि ल्याण्डफिल्ड साइड खाली गरी पूर्वाधार बनाइएको भन्दै घरबाटै वर्गीकरण गरेर आएको फोहरलाई उक्त स्थानमा प्रशोधन तथा व्यवस्थापन गरिने नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । नगरपालिकाले दैनिक फोहर सङ्कलन गर्न घरघरमा सवारीसाधनको व्यवस्था गरेको छ ।

“नगरपालिकाले रु एक करोड खर्च गरेर फोहरलाई दीर्घकालीन समाधान गर्न थालेको छ । ‘क्लिन बागलुङ’ अभियानअन्र्तगत १० दिनसम्म बजार क्षेत्रमा १५ हजार फोहर सङ्कलन गर्ने बाल्टी बितरण गर्नेछौँ”, नगरप्रमुख श्रेष्ठले भने, “कुहिने, नकुहिने र पुन प्रयोग गर्न मिल्ने फोहरलाई छुट्टाछुट्टै सवारीसाधनको व्यवस्था गर्नेछौँ ।” नगरपालिकाले तीन थरी रङ्गका बाल्टी वितरण गर्ने भन्दै सोही रङ्गका सवारीसाधन तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

नगरपालिकाले तीन किसिमका फोहर सङ्कलन गरेर ‘जिरो वेस्ट’ अर्थात् सबै फोहरको उचित सदुपयोग गर्ने अभियान थालेको छ । यसअघि नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा सङ्कलित फोहर व्यवस्थापन गर्दै आएको थियो ।

कुहिने, नकुहिने र पुनःप्रयोग गर्न मिल्ने फोहरको उचित व्यवस्थापन पहिलो पटक गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए । उनका अनुसार रातो बाल्टीमा नकुहिने, निलो बाल्टीमा पुनःप्रयोग गर्न मिल्ने र हरियोमा कुहिने फोहर सङ्कलन गर्न नगरवासीलाई सोहीअनुसार बाल्टी वितरण गर्न थालिएको हो ।

चालु आर्थिक वर्षमा फोहर व्यवस्थापनमा नमुना पालिका बनाउने योजनाअन्तर्गत डम्पिङ साइट (फोहर फाल्न बनाइएको निश्चित स्थान) मा फोहर थुपार्ने तथा यससम्बन्धी अध्ययन अवलोकन केन्द्र बनाउने योजना रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । अहिले व्यवस्थापन गरिएको स्थानमा वर्गीकरण गरेको फोहरले थोरै क्षेत्र ओगट्ने भएकाले बाँकी क्षेत्रलाई वनभोज स्थलका रुपमा प्रयोग गर्न सकिने उनले बताए ।

अभियानको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, नगरप्रमुख श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीलगायत व्यक्तिको उपस्थिति थियो ।

कुहिने फोहरबाट प्राङ्गारिक मल

नगरपालिकामा सबैभन्दा बढी उत्पादन हुने कुहिने फोहर भएकाले यसलाई डम्पिङसाइडमा नलगी कम्पोष्ट मल बनाउन अन्यत्र व्यवस्थापन गर्ने तयारी भइरहेको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । प्राङ्गारिक मल मनाउन बागलुङ–४ कुँडुलेमा जग्गा व्यवस्थापन गर्ने काम भइरहेको उनले जानकारी दिए ।

“बजार क्षेत्रमा बढी कुहिने फोहर उत्पादन हुन्छ, यसको उचित व्यवस्थापन गर्न सके आधा काम सकिन्छ, कुहिने फोहरलाई सङ्कलन गरेर कम्पोष्ट मल बनाउन आवश्यक छ । उत्पादित कम्पोष्ट मल बिक्री गरिनेछ”, श्रेष्ठले भने, “नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर मात्रै डम्पिङ साइटमा जान्छ ।”

सार्वजनिक शौचालय निर्माण

बागलुङ नगरपालिका र एभरेष्ट बैंकको साझेदारीमा बागलुङ बजारको मुख्य चोकस्थित ऐश्वर्य पार्कमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

उक्त शौचालयालाई ‘क्लिन बागलुङ’ अभियानसँगै जोडेर आजै शुभारम्भ गरिएको छ । नगरपालिकाका उपप्रमुख राजु खड्काले आठ लाख लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउदै शौचालयसँगै कफी पसल र ‘एटिएम बुथ’ पनि राखिएको जानकारी दिए । “पार्कमा घुम्न आउने आगन्तुकको सहजताका लागि शौचालय निर्माण, कफी पसल र ‘एटिएम बुथ’ राखेका छौँ । विस्तारै अन्य पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here