फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल



काठमाडौँ । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचनमा पारेको प्रभावका विषयमा छलफल हुनेछ ।


‘निर्वाचनका उदीयमान प्रवृत्तिः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ विषयमा सुरु १२औँ फेम्बोसा सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। सम्मेलनमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष तथा उच्च पदाधिकारीसहित १० जना विदेशी प्रतिनिधिहरुको सहभागिता छ ।

चालिसभन्दा बढी नेपाली प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा अन्य विकास साझेदार संस्था संयुक्त राष्ट्रसङ्घ (युएन), निर्वाचन पर्यवेक्षक संस्थाका प्रतिनिधि तथा पूर्वनिर्वाचन आयुक्तहरुको सहभागिता छ ।

सम्मेलनमा मुख्यगरी जलवायु परिवर्तनले पारेको असर, विपद्, सामाजिक सञ्जालको बढ्दो प्रभाव र बसाइँसराइलगायत पक्षले निर्वाचन र निर्वाचन प्रक्रियामा पारेको प्रभावका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ । सम्मेलनमा विषयगत सत्र सञ्चालन हुनेछ । हरेक सत्रबाट आएका निष्कर्षलाई काठमाडौँ घोषणापत्रका रुपमा सार्वजनिक गरिने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचन प्रक्रियामा चुनौती खडा गरेको भन्दै यस्ता उदीयमान समस्याबारे सम्मेलनमा गहन छलफल हुने जानकारी दिए । उनले ती समस्याले निर्वाचनमा कसरी प्रभाव पारिरहेको छ र त्यसलाई न्यूनीकरण गरी निर्वाचनलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए ।

आयुक्त थपलियाले भने, “वातावरणमैत्री प्रविधि, सामग्रीको प्रयोग बढाउँदै आमनिर्वाचन सहज रुपमा सम्पन्न गर्न सम्मेलनको निष्कर्षले सघाउने अपेक्षा छ ।” उनले निर्वाचन व्यवस्थापनसँगै सामाजिक सञ्जालले निर्वाचन प्रक्रिया प्रभावित पार्नसक्ने, सामान ओसारपसारमा समस्या, बसाइँसराइले निर्वाचन प्रक्रिया र परिणाममा असर गरिरहेकोतर्फ ध्यानाकर्षण गराए।

आयुक्त थपलियाले जलवायु परिवर्तनले वातावरण नराम्ररी प्रभावित भएको भन्दै यसबाट उत्पन्न विपद्जन्य घटनाले दक्षिण एसियालाई असर पुर्याइरहेको उल्लेख गरे । विपद्जन्य घटनाले निर्वाचनका गतिविधिमा पनि समस्या निम्त्याइरहेको उनले जानकारी दिए ।

सम्मेलनमा निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष फोवाद तौफिकले जलवायु परिवर्तनले दक्षिण एसियामा चुनौती बढाउँदै लगेको बताए । यसले निर्वाचन प्रणालीमा समस्या निम्त्याइरहेको उल्लेख गर्दै उनले मतदाता, मतदान सामग्री, प्रविधिको पहुँचमा समस्या उत्पन्न गराइरहेको उल्लेख गरे ।

अध्यक्ष तौफिकले बसाइँसराइले राजनीतिक स्थायित्वमा प्रभाव पारेको, सामाजिक सञ्जालको बढ्दो पहुँचले नागरिकमा प्रभाव पर्ने, गलत सूचनाको विकास र प्रवाहले निर्वाचनको प्रजातान्त्रिक प्रक्रियालाई प्रभावित बनाउने अनुभव सुनाए ।

भारतको निर्वाचन आयोगका वरिष्ठ उपनिर्वाचन आयुक्त नितेशकुमार व्यासले जलवायु परिवर्तन, सामाजिक सञ्जाल र आप्रवासनले समग्र निर्वाचन प्रक्रियामा प्रभाव पारिरहेको बताउँदै फेम्बोसा जस्तो प्रतिष्ठित संस्थाले त्यस्ता चुनौती सामना गर्न र सम्बन्धित देशको निर्वाचन क्षेत्रको क्षमता अभिवृत्ति गर्न सघाउने विश्वास व्यक्त गरे ।

सामूहिक प्रयासले निर्वाचन परिणामलाई पारदर्शी र प्रभावकारी बनाउने वरिष्ठ उपनिर्वाचन आयुक्त व्यासको भनाइ छ । फेम्बोसा आबद्ध मुलुकहरुले अझै बलियो सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनले औँल्याए ।

श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नाइकेले जवलायु परिवर्तनका असरले आममतदाताको जनजीवन प्रभाव पार्ने र त्यसले आप्रवासनमा बढोत्तरी गर्ने हुँदा निर्वाचनलाई नै प्रभावित पार्ने उल्लेख गरे । उनले सामाजिक सञ्जाल र एआईको बढ्दो प्रभावले गत सूचना (मिस इन्फरमेसन) नागरिकसम्म पुग्ने हुँदा प्रजातान्त्रिक प्रक्रियालाई असर गरिरहेको उल्लेख गरे।

श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष रत्नाइकेले सामाजिक सञ्जाल र एआईको गलत प्रयोग गरी सत्यतथ्यविना समाचार सामग्री निर्माण गरी सार्वजनिक गरिने हुँदा मतदाता दोधारमा पर्नसक्ने भन्दै राजनीतिक समूहले त्यसलाई मूल ‘एजेन्डा’ बनाएर फरक रुपमा लैजान सक्नेतर्फ ध्यनाकर्षण गराए ।

एआई र सामाजिक सञ्जालको दुरुपयोगले विद्युतीय सुरक्षामा चुनौती थपिएको बताउँदै निर्वाचनमा नागरिकलाई विश्वास दिलाउन चुनौतीपूर्ण अवस्था सिर्जना भएको अध्यक्ष रत्नाइकेले औँल्याए । यी समस्याहरु समाधान गर्दै उदीयमान अन्य समस्यासँग जुध्न प्रविधि, कानुन र समन्वयात्मक सहयोग मञ्चबाट प्रदान हुने भएकाले सम्मेलन महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे ।

सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता गरेका निर्वाचन आयोग भूटानका अध्यक्ष दोशो सोनाम तोग्वेले कोभिड–१९ महामारीका समयमा सन् २०२१ मा भूटानमा भएको सम्मेलनले महत्वपूर्ण निष्कर्ष निकालेका जनाउँदै त्यसको आधारमा रहेर दक्षिण एसियमा देखिएका चुनौतीलाई सामूहिकरुपमा सामना गर्न सफल भएको स्मरण गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा उनले फेम्बोसाको झन्डा प्रमुख निर्वाचन आयुक्त थपलियालाई हस्तान्तरण गरेर आगामी सम्मेलनको अध्यक्षताको जिम्मेवारी दिएका थिए ।

आजको सत्रमा प्राविधिक विषयसहित निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन, निर्वाचन र सामाजिक सञ्जाल तथा एआईसम्बन्धी छलफल गरी निष्कर्ष निकालिने छ । भोलि विषयगत सत्रदेखि आएका निष्कर्षलाई एकीकृत गरी काठमाडौँ घोषणापत्र जारी गरिने निर्वाचन आयोगले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here