प्रधानमन्त्री ओलीको न्युयोर्कमा महत्त्वपूर्ण भेटघाट सुरु



न्युयोर्क। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्।

प्रधानमन्त्री ओली आजै दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे संयुक्त राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ।


यस्तै, स्थानीय समयअनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजना हुने संसदीय मञ्चको कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शनिबार दिउँसो संयुक्त राष्ट्रसंघका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नेछन्।

आजै साँझ राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेका छन्। क्यानाडामा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसंघका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयअनुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क आइपुगेका थिए। यहाँ बसेको होटल ग्रान्ड ह्यायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्यूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here