पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा



वार्सा  । प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि करोडौँ डलरको सहयोग घोषणा गरेका छन् । मुलुकमा मुसलधारे वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियाका धेरै क्षेत्र तीव्र हावा र असामान्य रूपमा मुसलधारे वर्षाले प्रभावित भएका छन् ।


‘अहिले हामीले बाढीबाट प्रभावित स्थान र मानिसहरूका लागि एक अर्ब ज्लाटी (२६ करोड डलर) को कोष सुनिश्चित गरेका छौँ’, प्रधानमन्त्री टस्कले पत्रकारहरूसँग भने, ‘आजदेखि बाढीबाट प्रभावित जो कोही र बाढी, भत्किएका भवनहरू, बाढीले बगाएका ग्यारेज, हराएका कारहरू, बाढीसम्बद्ध क्षतिका लागि सजिलै पैसा दाबी गर्न सक्नेछन् ।’

प्रहरीले सोमबार अद्यावधिक गरेको आँकडाअनुसार पोल्यान्डमा आँधीबाट चार जनाको मृत्यु भएको छ । ‘प्रकोपबाट प्रभावित क्षेत्रमा चार जनाको मृत्यु भएको छ’, पोलिश प्रहरी प्रवक्ता कटारजिना नोभाकले भने । यद्यपि उनले मृत्युको सही कारण अझै स्पष्ट गर्न आवश्यक रहेको बताए ।

बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपमा मुसलधारे वर्षा र बाढी आउँदा १४ जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । साथै लाखौँ मानिसलाई उनीहरूको घरबाट स्थानान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here