पाकिस्तानमा दुई आदिवासी समुदायबीच भएको झडपमा १५ जनाको मृत्यु



पाकिस्तान । उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादको द्वन्द्वमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो । गत जुलाईमा पनि कुर्रम जिल्लामा दुई समुदायबीच झडप भएको थियो ।


“भूमी सम्बन्धी विवादमा सुरु भएको सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिबीचको द्वन्द्व हाल साम्प्रदायिक झडपमा परिणत भएको छ”, कुर्रममा तैनाथ एक वरिष्ठ प्रशासनिक अधिकारीले भने ।

शनिबारदेखि भएको झडपमा १५ जनाको मृत्यु भएको उनले बताए । आधिकारिक समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस अफ पाकिस्तान’ले झडपमा करिब २० जना घाइते भएका जनाएको छ ।

पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा सुन्नी र शिया सम्प्रदायका जनजातिबीच लामो समयदेखी विवाद कायम रहेको छ । जुलाईमा उनीहरुबीच भएको पछिल्लो झडपमा ३५ जनाको मृत्यु भएको थियो ।

मुख्यतया सुन्नी मुस्लिम बाहुल्य पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोगेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here