पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध



लमजुङ । अविरल वर्षापछि पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । आज साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताए । सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उनको भनाइ छ ।


यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताए । “पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौँ”, उनले भने । यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here