नेपाल प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना- ४ हजार प्रहरी परिचालन, खसि बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा दिने



काठमाडौं । नेपाल प्रहरीले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार नेपाल प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै यस पटकको चाडपर्वमा खसि बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा दिने योजना सार्वजनिक गरेको छ ।

चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।


त्यस्तै प्रहरीले चाडपर्वको बेलामा तत्काल घटनास्थलमा पुग्नाको लागि ७६ वटा मोटरसाइकल तयारी अवस्थामा राख्ने भएको छ । आवश्यक सामाग्रीसहित ती मोटरसाइकलहरु तयारी हालतमा राखिने प्रहरीले जनाएको छ ।

दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए । उनले भने– ‘काठमाडौँको सुरक्षा व्यवस्था चुस्त छ, कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।’

काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी नवराज अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here