मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघि पनि आयोगको सदस्य हुनु भएको छ ।बैठकले सिन्धुपाल्चोकका नेपाललाई उपाध्यक्ष, सदस्यमा काभ्रेपलाञ्चोकका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यस्तै, प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामा नियुक्त हुनु भएको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतिमा नियुक्त हुनुभएको हो ।
बैठकले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।
यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सङ्घीय इकाइको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।