निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छः गृहमन्त्री लेखक



महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार बिहान महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ । उनले भने । उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए ।


‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।’उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । ‘दुईतीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।’ गृहमन्त्री लेखकले भने–’छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’