धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति



म्याग्दी । यस वर्षको शरद्‌याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । 
विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । 


सोबापत ७१ लाख ७० हजार सात सय ५० शुल्क संकलन भएको विभागले जनाएको छ । आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । 

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ । 

शरद्‌मा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।  

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो । 

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । 

गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले  ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here