काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार घटना शङ्कास्पद देखिएको छ । चालक यमबहादुर घलेको मोबाइल स्विचअफ रहेको छ ।
दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उनको भनाइ छ । यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उनले बताए ।
ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा २ हजार २ सय २५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै १ सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।