तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध



काठमाडौं । सरकारले भोलि (आइतबार) देखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो । 

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले शनिबार जारी विज्ञप्तिमा देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय लिएको उल्लेख छ । यस्तै तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैले संयमता अपनाई समन्वयात्मक रूपमा विपद् व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ ।


विज्ञप्तिमा मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न र भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here