तरकारी खेतीबाटै छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर पढाउँदै उर्मिला



कञ्चनपुर । बेदकोट नगरपालिका–७ मन्दिरपुरकी उर्मिला डगौराले तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी थिइन् । उनले तरकारी खेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छिन् । । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छिन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन् ।

“हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भनिन्, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।” २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरेकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ । उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमान्ले किराना पसल सञ्चालन गरेका छन् ।


उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्छन् । “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ”, उर्मिलाले भनिन्, “अहिले १५ कट्ठा जग्गामा तरकारी खेती गरेका छौँ । त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।” उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइन् । सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here