जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव



काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताएका छन्।

एसियाली विकास बैंक (एडिबी)ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उनले यस्तो बताएका हुन्।


मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एडिबीले गरेको अध्ययनको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे। उनले भने, ‘एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रूपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान ०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिबारे अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिँगाे मन्त्रालयको टोलीलाई धन्यवाद दिन चाहन्छु।’

यसैगरी, मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताए।

उनले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहुजोखिम मूल्यांकन, पूर्वसूचना प्रणाली, विपत् जोखिम न्यूनीकरणका लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्त्वलाई पनि जोड दिए। उनले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरे।

उक्त कार्यक्रममा भुटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागिता थियो। कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here